
काठमाडौं । संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।
बिहीबार संविधान दिवसको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट अतिथिहरु सहभागी भएका छन् ।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले साँस्कृतिक झाँकी प्रस्तुत गरेका छन् भने शान्तिको प्रतीक सेतो परेवा पनि उडाइएको थियो ।
संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको स्मरणमा सरकारले ३ असोजलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको छ ।


मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रमणीयस्थल रारा तालमा डुङ्गा सयर गरेर रमाउँदै आन्तरिक पर्यटकहरु। तस्बिर : सुरेश आचार्य
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पर्ने कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर पदमार्गअन्तर्गतको लाप्साङ पोखरी क्षेत्रबाट देखिएका छ हजार ६८२ मिटर उचाइको राथोङ पिक र सात हजार ३३५ मिटर उचाइको काब्रु पिक हिमालको मनमोहक दृश्य। तस्बिरः दिलकुमार लिम्बू
ढोरपाटन । बागलुङ नगरपालिका–४ कुँडुले र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने गरी निर्माण भएको झोलुङ्गे पुल । पुल निर्माणपछि एक घण्टाको दूरी पाँच मिनेटमा छोटिएको छ । तस्बिरः डम्मर बुढामगर
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका-१० को दर्लिङ र निगलपानी जोड्ने झोलुङ्गे पुल । ३ सय ५९ मिटर लामो पुल बनेसँगै स्थानीयलाई आवतजावतमा सहज भएको छ ।
फोटो : कृष्ण घर्तीमगर
काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतमा भएको रेल दुर्घटनामा मृत्यु भएका ७ नेपालीको सनाखत
गरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।
मृत्यु हुनेमा कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र बाँकेका राधेश्याम राध रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै दुर्घटनामा थप ४ जना नेपाली घाइते समेत भएका छन् । घाइतेमध्ये ४ जनाको स्थानीय अस्पताल र १ जनाको गम्भीर अवस्थामा जलगाउँस्थित गोदावरी अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचार गर्नका लागि मन्त्रालयले दिल्लीस्थित दूतावास तथा काठमाडौंस्थित भारतीय दूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय एवम् सहजीकरण गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
माघ ९ गते साँझ महाराष्ट्र राज्यको जलगाउँ जिल्लास्थित भरधाडे स्टेसननजिकै रेल दुर्घटना भएको थियो । उक्त दुर्घटनामा नेपालीबाहेक अन्य ५ जनाको पनि मृत्यु भएको थियो ।
नामावली

दोधारा चाँदनी । हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन् ।
हमास–इजरायल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको हो । युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उनको परिवारमा छ ।
मलिन अनुहारमा विपिनका आमा पदमाले भने, “युद्धविराम भएपछि विपिन पहिलो चरणमै छुट्लान् भन्ने आशा थियो, तर भएन । मेरो निर्दोष छोरा पन्ध्र महिनादेखि बन्धक छ ।” उनले यसअघि पनि युद्धविराम भएका बेला छोराको रिहाइको आशा गरिए पनि रिहाइ नभएको बताउँदै यसपटक रिहाइ हुनेमा आशावादी रहेको बताए ।
“युद्धविराम हुन्छ फेरि युद्ध भइहाल्छ अझै पनि हाम्रो मनमा त्यही डर छ कतै फेरि युद्ध त हुने होइन,” आमा पदमाले भनिन्, “जसरी हुन्छ अहिलेको युद्धविराममा मेरो छोराको सकुशल रिहाइ होस् सरकारसँग यही अनुरोध छ ।” सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायमा अध्ययनरत ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । त्यहाँ गएको एक महिना नहुँदै इजरायलको दक्षिणी क्षेत्रस्थित अलिमुम किबुजमा हमास समूहले आक्रमण गरेको थियो । आक्रमणमा १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको थियो । त्यति बेलादेखि विपिनको अवस्था अज्ञात छ ।
इजरायल सरकारले हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा विपिनको नाम समावेश छैन ।
विपिनका लागि सरकार गम्भीर भएर लागेको गृहमन्त्री रमेश लेखकले बताए । “सरकारसँग प्राप्त सूचनाअनुसार विपिन हमासको नियन्त्रणमा सुरक्षित छन्, विपिनको रिहाइका लागि सरकार गम्भीर भएर लागेको छ,” गृहमन्त्री लेखकले भने, “अहिले हमास–इजरायल युद्धविराम भएको छ, हामी विपिनको सकुशल रिहाइ हुने आशामा छौँ ।” उनले विपिनको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको बताए ।
काठमाडाैं । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त अरब इमिरेट्स (युएई)मा दुई थोपा हाँसो कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्ष २०२५ को अवसरमा युएईमा बसोबास गरिरहेका श्रमशील नेपाली नागरिकलाई मनोरञ्जन, वित्तीय सचेतना अभिवृद्धि एवम् जीवनका बारेमा सकारात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क रूपमा कार्यक्रम गरिएको हो ।
नेपाली राजदूतावास अबुधाबीको संयोजनमा गैर आवसीय नेपाली संघ युएइको आयोजनामा सिस्नुपानी नेपालका कलाकारहरूको प्रस्तुति रहेको थियो ।
युएईका लागि नेपाली राजदूत महामहिम तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा समुद्घाटन गरिएको उक्त कार्यक्रम आबुधाबीस्थित अलजोधा, एम ४४, मुसफ्फाबाट जनवरी १० तारिखमा सुरु गरिएको थियो । यसैगरी क्लिन्को क्याम्प , सज्जा सारजहाँ र अलकुजको बलेदिया भलिबल ग्राउन्डमा जनवरी ११ तारिखमा गरिएको थियो । जनवरी १२ तारिखमा भने इभर सेन्डाई क्याम्प, सोनापुर र इन्डियन सोसल सेन्टर अजमानमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सिस्नुपानी नेपालका तर्फबाट कार्यक्रम संयोजक तथा सिस्नुपानी नेपालका महासचिव टंक आचार्य, चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, गायक धीरेन्द्र प्रेमर्षी, कलाकार चक्र दवाडी र सरोज घिमिरेको उपस्थिति रहेको थियो ।
नेपाली कामदारलाई पायक पर्ने हल तथा उनीहरू बस्ने क्याम्प क्याम्पमा नै पुगेर गरिएको यस कार्यक्रमले आर्थिक, सामाजिक तथा कानुनी कुरामासमेत सचेतना थपेको थियो । नेपाली रेमिट्यान्समा उल्लेख्य भूमिका निर्वाह गर्ने श्रमशील नेपालीका दुःख सुखमा ऊर्जा थप्ने उद्देश्यले सिस्नुपानी नेपालले विगत एघार वर्षदेखि यो कार्यक्रम दुई थोपा हाँसो गर्दै आएको छ । युएईमा भने यो चौथो संस्करण हो ।
ग्लोबल आइएमई बैंकको ग्लोबल रेमिटको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा नेपाल वायुसेवालगायत अन्य दर्जनौँ संस्थाको प्रायोजन रहेको थियो ।
आगामी दिनमा पनि यस्ता कार्यक्रम नेपालीले श्रम गरिरहेका विभिन्न देशमा गर्दै जाने कुरा आयोजक संस्था र कलाकार समूहद्वारा व्यक्त गरिएको थियो ।
काठमाडौं । नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ ।
उद्धार गरी ‘टाक इमिग्रेसन अफिस’ मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच नेपाली नागरिकमध्ये चार (पुरुष) थाई सरकारी निकाय ‘आइओएम’ थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासहितको सहयोगमा एक साताअघि नेपाल फर्काइएको थियो । एकजना महिलालाई भने आज नेपाल फर्काइएको दूतावासले जनाएको छ ।
नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो धेरै पैसा कमाउने चाहना राखेर कम्बोडिया, लाओस, म्यानमार र थाइल्याणलगायत वैदेशिक रोजगारीमा नआउन पनि दूतावासले अनुरोध गरेको छ ।
लिस्बन । विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि माल्टाबाट छ सय बढी नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले माल्टामा सञ्चालन गरेको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो ।
शिविरबाट राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र माल्टामा जन्मेका नेपाली बालबालिकाको नयाँ राहदानी गरी कूल छ सय ५० जनाको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको स्पेनका लागि कार्यवाहक राजदूत यज्ञराज पौड्यालले जानकारी दिए । पाँच दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट झण्डै सात सय नेपालीले सेवा लिएको कार्यवाहक राजदूत पौड्यालले बताए ।
शिविरबाट करिब ७८ हजार युरो अर्थात् रु एक करोड १० लाख राजस्व सङ्कलन भएको पौड्यालले बताए । “राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा दिन विशेष प्राथमिकता दिएर माल्टामा घुम्ती शिविर सञ्चालन गरेका हौँ”, पौड्यालले भने, “शिविर अवधिभर हामीले सक्दो सेवा दिने प्रयास गर्यौं, माल्टाबाटै सेवा पाउँदा सहज भएको भन्दै सेवाग्राहीले खुसी व्यक्त गर्नुभयो ।”
शिविरबाट राहदानी नवीकरण, राहदानी वितरण र कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा प्रवाह गरिएको दूतावासले जनाएको छ । घुम्ती सेवामा दूतावासका सहचारी विपिन चन्द, राहदानी विभागका नायब सुब्बा विदुर खतिवडा र दूतावासका स्थानीय कर्मचारी खटिएका छन् । टोलीले डिसेम्बर १४ तारिखदेखि गैरआवासीय नेपाली सङ्घ माल्टाको कार्यालयबाट कन्सुलर सेवा प्रदान गरेको थियो । घुम्ती सेवालाई गैरआवासीय नेपाली सङ्घ माल्टासहित त्यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाले समन्वय र सहजीकरण गरेका थिए ।
माल्टामा नेपाली दूतावास नभएका कारण राहदानी विभाग र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले त्यहाँ घुम्ती शिविर सञ्चालन गरेको हो । यसअघि दूतावासले गत महिना स्पेनको बार्सिलोनामा घुम्ती सेवा सञ्चालन गरेको थियो ।



