
८ माघ, काठमाडौं। मोबाइल फोन निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्सले बेलायतको राजधानी लन्डनमा ‘ग्यालेक्सी अनप्याक्ड २०२५’ नाम दिएर लाइभ होलोग्राम शोकेस गरेको छ ।
मोबाइल एआईको अर्को युग सुरु भएको र विश्वलाई यसको अनुभव दिलाउन सामसङले लन्डनमा होलोग्राम र आवाजसहित शोकेस आयोजना गरेको हो । शोकेस अवलोकन गर्न हजारौं दर्शक उपस्थित थिए ।
होलोग्राम प्रोजेक्सनमा ग्यालेक्सी एआईबाट प्रयोगकर्ताले अपेक्षा गरेको मोबाइल अनुभवदेखि ग्यालेक्सी एस सिरिजका नयाँ फिचर १ सय फिटमाथि आकाशमा ६५ फिट बाई ५० आकारमा देखाइएको थियो ।
सामसङका प्रयोगकर्ताले यो शोकेस ९ माघदेखि सामसङको आधिकारिक वेबसाइट वा सामसङ नेपालको आधिकारिक फेसबुक पेजमा हेर्न सक्नेछन् ।
सामसङ नेपालले शोकेसबारे जानकारी दिन ३० जनवरीमा पत्रकार सम्मेलन गर्ने जनाएको छ ।
काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका प्रभावित परिवारलाई कम्बल वितरण गरिएको हो ।
१ माघमा एक कार्यक्रमको आयोजना गरी जाजरकोटको नलगाड नगरपालिका–१ का अध्यक्ष धनबहादुर महर र २ माघमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का अध्यक्ष इन्द्रबहादुर गिरीको उपस्थितिमा प्रभावितहरूलाई कम्बल वितरण गरिएको बैंकले जनाएको छ ।
यस वर्षको हिउँदमा पनि अस्थायी आवासमा बिताउनु पर्दा खासगरी वृद्धवृद्धा, बालबालिका र सुत्केरीहरुको स्वास्थ्यमा पर्नसक्ने समस्यालाई ध्यानमा राखी कम्बल वितरण गरिएको नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताए ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका–१ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ मा ४९ वटा अस्थायी आवास निर्माण गरेको थियो । सोही अस्थायी आवासमा बसोबास गर्ने परिवारका लागि कम्बल वितरण गरिएको बैंकले जनाएको छ ।
त्यसअवसरमा नलगाड–१ का अध्यक्ष महर र चौरजहारी–१ का अध्यक्ष गिरीले भूकम्प प्रभावितका लागि ओत लाग्न सुरक्षित ठाउँ उपलब्ध गराउनुका साथै यसवर्ष चिसोबाट बच्न कम्बल वितरण गरी राहत उपलब्ध गराएकामा नबिल बैंकलाई धन्यवाद दिए ।
१७ कात्तिक २०८० मा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्र बिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुगेको थियो ।
काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट अबिमोच्य अग्राधिकार सेयर जारी गर्न स्वीकृति प्राप्त गरेको छ ।
कामना सेवाले आफ्नो १८औं वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गरेको थियो ।
राष्ट्र बैंकले मंगलबार अग्राधिकार सेयर जारी गर्नका लागि स्वीकृति प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए ।
राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा गरेको व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरूलाई पूँजीकोष सबलीकरण गर्नका लागि हकप्रद सेयरको विकल्पको रूपमा गत १२ असरमा सर्कुलर जारी गर्दै अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएको थियो ।
राष्ट्र बैंकले अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएसँगै बैंकले गत १७ असारमै ९ प्रतिशत प्रतिफल दर तोकेर ३५ लाख कित्ता अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको थियो ।
उक्त अग्राधिकार सेयर जारी गरे पश्चात बैंकको पूँजीकोष बढ्न गई व्यवसाय विस्तारमा सहजीकरण हुनेछ ।
हाल बजारको तरलता अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्तालाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार सेयर लगानीको उचित माध्यम समेत हुने बैंकले जनाएको छ ।
अब, नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात उक्त अबिमोच्य असञ्चिति अग्राधिकार सेयर बिक्रीका लागि आह्वान हुने र सम्बन्धित नियामकीय निकायको स्वीकृति पश्चात स्टक एक्सचेन्जमा सूचीकृत हुने थकालीले बताए ।
काठमाडौं । कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच सम्झौता भएको छ ।
कुमारी बैंकका ग्राहकलाई वात्सलय नेचुरल आईभीएफको देशभरि रहेका शाखाबाट विशेष छुट प्रदान गर्ने विषयमा दुवै पक्षबीच सम्झौता भएको हो ।
सम्झौता अनुसार कुमारी बैंकका ग्राहकलाई वात्सल्य आईभीएफ प्याकेजमा १० हजार रुपैयाँ छुट प्रदान गरिने छ ।
साथै उपचारका क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।
काठमाडौंको नक्सालमा रहेको वात्सल्य नेचुरलले बाँझोपन परीक्षण, बाँझोपन उपचार, प्रजनन् क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
१३ माघ, इलाम। इलाम चौंथो साहित्य महोत्सव आउँदो चैत्र १ र २ गते हुने भएको छ ।
साहित्यको क्षेत्रबाट इलामको पर्यटन प्रवर्द्धन गर्दै इलामको साहित्यलाई देश विदेशमा चिनाउने उद्देश्यका साथ साहित्य महोत्सवको आयोजना गर्न लागिएको पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ। साथै कार्यक्रममा आयोजकले लोगो समेत सार्वजानिक गरेको छ ।
पर्यटनका लागि साहित्य भन्ने नाराका साथ हुन लागेको महोत्सवमा नेपाल र भारत, भियतनामलगायत विभिन्न युरोपियन देशका चर्चित साहित्यकारहरूको उपस्थिति रहने आयोजक इलाम साहित्य कला संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थामसुहाङले बताए ।
साहित्यिक क्षेत्रमा अग्रपङ्तिमा रहेको इलाम पछिल्ला दिनमा खस्कँदै गएको भन्दै त्यसको पुनःजागरणका लागि चौंथो संस्करणको महोत्सव हुन लागेको हो।
यसअघि २०७६ सालमा प्रथम इलाम साहित्य महोत्सव सञ्चालन भएको थियो । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा हुन लागेको इलाम साहित्य समाजका सचिब रोशन राईले जानकारी दिए ।
यस महोत्सवमा नेपाली सिने जगतका चर्चित कलाकारहरू, चर्चित राजनितिज्ञहरुको पनि उपस्थिति रहनेछ । महोत्सवमा बिभीन्न विषयमा छलफल र बहस हुनेछ ।
यस्तै सिक्कीमका पुर्ब मुख्यमन्त्री पवन चाम्लिङ संगको राजनितिक बहस समेत रहनेछ ।
खर्चअनुमान करिब साडे २२ लाख रुपैयाँ खर्च लाग्ने यस साहित्य महोत्सवको माध्यमबाट इलामको पर्यटन क्षेत्रमा प्रत्यक्ष फाइदा पुग्ने विश्वास आयोजकले लिएको अध्यक्ष थाम्सुहाङले बताए ।
महोत्सवमा साहित्यसँगै पर्यटन, राजनीति र इलामको चिनारीबारे बहस हुनेछ ।
काठमाडौं । संचारकर्मी समेत रहेकी गीतकार गीता अधिकारीको आलेख संग्रह ‘कलमका डोबहरू’ लोकार्पण गरिएको छ । आयोजित समारोहमा नेपाली फिल्म क्षेत्रका वरिष्ठ अभिनेत्रीद्वय चैत्यदेवी सिंह र भुवन चन्दले पुस्तक सार्वजनिक गरे ।
यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याएकी अधिकारीले जन्मदिनको अवसरमा पुस्तक ल्याएकी हुन् । लेखक अधिकारीले विविध समयमा प्रकाशित आलेखलाई संग्रहित गरेर पुस्तकाकार दिएको बताइन् ।
मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले लेखक अधिकारीले आफ्ना आलेखलाई दस्तावेजीकरण गरेको जानकारी दिए । पुस्तकमा सो समयका विभिन्न घटना र विषयलाई समेटिएको उनले जनाए ।
सञ्चारकर्मी रिना श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा मिलापको पुस अंकमा कभर स्टोरीमा रहेकी साहित्यकार राधा भण्डारीलाई कभर सम्मान अर्पण गरिएको थियो । अथितिलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।
लेखक अधिकारी कला मनोरञ्जन विधाको पत्रकारितामा सक्रिय छिन् । उनका ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत श्रोता/दर्शकमाझ आएका छन् । मिलाप पब्लिकेशन प्रालिले पाठकमाझ ल्याएको ४७७ पेजको यस कृतिको मूल्य ९९९ रुपैयाँ राखिएको छ ।
७ माघ, काठमाडौं । नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त १० जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा सोमबार बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।
उनका अुनसार नइ प्रकाशनबाट अध्यात्म दर्शन र सनातन धर्मसंस्कृतिको जागरण, संरक्षण र सम्वर्धनका लागि प्राज्ञिक रूपमा सात दशकदेखि समर्पित प्रा.चेतोनाथ शर्मा आचार्यलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिने भएको छ ।
यस्तै नेपाल राष्ट्रको गौरवमय धर्म र संस्कृतिको अनुसन्धान तथा सांस्कृतिक जागरणका लागि सात दशक अघिदेखि अविच्छिन्न रूपमा समर्पित संस्कृति शिरोमणि श्री हरिराम जोशीलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने निर्णय भएको छ ।
यस्तै नेपाली भाषा साहित्यको सेवामा समर्पित रही विविध सिर्जना तथा प्राज्ञिक चिन्तनमा पुर्याएको विशिष्ट योगदानका निम्ति प्रा.गोपीकृष्ण शर्मालाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय भएको उनले बताए ।
नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको सम्वर्धनका लागि निष्ठावान् प्रा.डा.मोहन लोहनीलाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय भएको उनको भनाइ छ ।
स्वास्थ्य विज्ञानमा मन, वचन र कर्मले समाहित भई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपालको गौरव बढाएबापत न्युरो सर्जन डा.वसन्त पन्तलाई ‘नइ भावी पुरस्कार’ समर्पण गरिने भएको छ ।
त्यसै गरी सञ्चारका माध्यमबाट देशदेशान्तरमा नेपाली भाषाको गरिमा वृद्धिका साथै रेडियो नेपालको जनप्रियता बढाउनसमेत महत्त्वपूर्ण योगदान दिएबापत श्री कमल प्रधान तथा श्री ध्रुव थापालाई ‘नइ भाजप पुरस्कार’ संयुक्त रूपमा समर्पण गरिने भएको छ ।
नेपाली भाषामा बालसाहित्यका विविध विधाहरूको सिर्जनाका साथै बाल चेतनाको संवर्धनका निम्ति श्रीमती रञ्जुश्री पराजुलीलाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
काठमाडौं उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको सिर्जना र सम्वर्धनमा विशिष्ट योगदान पुर्याएबापत पर्वतका श्री शान्तिनारायण श्रेष्ठलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गरिने भएको छ ।
त्यसैगरी राजधानीबाहिर रही नेपाली भाषासाहित्यको सिर्जनामा निरन्तर समर्पित विराटनगरका श्रीमती राधिका गुरागाईंलाई ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गरिने भएको छ ।
यी सबै पुरस्कारको राशि जनही एकएक लाख रुपैयाँ रहेको छ ।
६ माघ, काठमाडौं । समाजशास्त्री डोरबहादुर विष्टको चर्चित अंग्रेजी किताब ‘रिपोर्ट फ्रम ल्हासा’ को नेपाली अनुवाद हुने भएको छ ।
विष्टको ९८ औँ जन्मदिवसको अवसर पारेर किताबलाई नेपाली भाषामा प्रकाशन गर्न बुक हिल पब्लिकेशन र डोर बहादुर विष्ट फाउण्डेसनबीच सम्झौता भएको हो ।
अंग्रेजी भाषामा लिखित पुस्तकलाई पत्रकार विराट अनुपमले नेपाली भाषामा रुपान्तरण गर्नेछन् । किताबको नाम ‘ल्हासाको खबर’ राखिएको छ ।
प्रकाशक संस्था बुक हिलका प्रतिनिधि भुपेन्द्र खड्काले किताब चैतसम्ममा बजारमा ल्याइसक्ने जानकारी दिए । अनुवादक अनुपमले आफू डोरबहादुर विष्टबाट प्रभावित भएको हुँदा उनीसँग अनुवादकको रूपमा जोडिन पाउँदा खुसी भएको बताए ।
डोरबहादुर विष्टका सुपुत्र एवंम पूर्वमन्त्री केशरबहादुर विष्टले बुवाकाबारे विदेशका विश्वविद्यालयहरूमा डिपार्टमेन्टकै नाम रहन गएको भन्दै समाजशास्त्र एवंम् मानवशास्त्र पढ्ने विद्यार्थीले अनिवार्य पढ्नुपर्ने बताएका छन् ।
उनले आम नेपाली भाषाका पाठकसमक्ष पुग्न यस नेपाली भाषाको किताबले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेसमान गुरुङले आफूले विष्टसँग लामो समय काम गरेको अनुभव सुनाउँदै उनी पठनमा उन्मुख गराउने व्यक्ति रहेको स्मरण गरे ।
डोर बहादुर विष्टको जीवनसँग सम्बन्धित डकुमेन्ट्री ‘म अलप हुन चाहन्छु’ समेत देखाइएको थियो ।
५ माघ, काठमाडौं । आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको ‘जंगबहादुर इन इङ्ल्याण्ड’ नामक पुस्तक सार्वजनिक भएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा बुढाथोकीका पिता भक्तबहादुर, इतिहासका प्राध्यापक त्रिरत्न मानन्धर, पत्रकार कुन्दमणि दिक्षित, लेखक यादव देवकोटाले पुस्तक सार्वजनिक गरे ।
५ माघ, काठमाडौं । सिस्नुपानी नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई थोपा हाँसो कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्ष २०२५ को अवसरमा युएईमा बसोबास गर्ने श्रमशील नेपाली नागरिकलाई मनोरञ्जन एवं जीवनका बारेमा सकारात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क रूपमा कार्यक्रम गरिएको हो ।
नेपाली राजदूतावास अबुधाबीको संयोजन र गैर आवसीय नेपाली संघ यूएईको आयोजनामा सिस्नुपानी नेपालका कलाकारहरूको प्रस्तुति रहेको थियो ।यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा समुद्घाटन गरिएको उक्त कार्यक्रम आबुधाबीस्थित अलजोधा, एम ४४, मुसफ्फाबाट जनवरी १० तारिखमा सुरु गरिएको थियो ।
यसैगरी क्लिन्को क्याम्प , सज्जा सारजहाँर अलकुजको बलेदिया भलिबल ग्राउन्डमा जनवरी ११ तारिखमा गरिएको थियो । जनवरी १२ तारिखमा भने इभर सेन्डाई क्याम्प, सोनापुर र इन्डियन सोसल सेन्टर अजमानमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सिस्नुपानी नेपालका तर्फबाट कार्यक्रम संयोजक तथा सिस्नुपानी नेपालका महासचिव टंक आचार्य, चर्चित हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, गायक धीरेन्द्र पे्रमर्षि, कलाकार चक्र दवाडी र सरोज घिमिरेको उपस्थिति रहेको थियो ।
कलाकार मनोज गजुरेल र चक्र दवाडीले मदन भण्डारी र बीपी कोइरालाको भूमिका निर्वाह गरेका थिए । टंक आचार्यले आफ्नो र अध्यक्ष लक्ष्मण गाम्नागेको कविता सुनाएर परदेशिएका नेपालीलाई भावुक बनाए ।
राजदूतावासबाट प्रतिनिधित्व गर्दै दिपेन्द्र पौडेल र विकास भट्टराईले नेपालीले ध्यान दिनुपर्ने कुरामा चर्चा गरेका थिए । गैर आवसीय नेपाली संघ युएईका अध्यक्ष विकाश शाहीको अध्यक्षतामा सम्पन्न ती कार्यक्रमहरूमा गैर आवसीय नेपाली संघका निवर्तमान अध्यक्ष एवम् संरक्षक ठाकुरप्रसाद ढुङ्गाना, गैर आवसीय नेपाली संघ मध्यपूर्वका उपसंयोजक तथा गैरआवसीय नेपाली संघ युएईका पूर्व अध्यक्ष रमेश श्रेष्ठ लगायत धेरै सरोकारवाला संस्थाका प्रतिनिधिको पनि उपस्थिति थियो ।
नेपाली रेमिट्यान्समा उल्लेख्य भूमिका निर्वाह गर्ने श्रमशील नेपालीका दुःखसुखमा ऊर्जा थप्ने उद्देश्यले सिस्नुपानी नेपालले विगत एघार वर्षदेखि यो कार्यक्रम दुई थोपा हाँसो गर्दै आएको छ । युएईमा भने यो चौथो संस्करण हो ।
ग्लोबल रेमिटको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा नेपाल वायुसेवालगायत अन्य दर्जनौँ संस्थाको प्रायोजन रहेको थियो ।



