बागलुङ । बागलुङको बडिगाड गाउँपालिका-१० को दर्लिङ र निगलपानी जोड्ने झोलुङ्गे पुल । ३ सय ५९ मिटर लामो पुल बनेसँगै स्थानीयलाई आवतजावतमा सहज भएको छ ।
फोटो : कृष्ण घर्तीमगर
काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतमा भएको रेल दुर्घटनामा मृत्यु भएका ७ नेपालीको सनाखत
गरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।
मृत्यु हुनेमा कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र बाँकेका राधेश्याम राध रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै दुर्घटनामा थप ४ जना नेपाली घाइते समेत भएका छन् । घाइतेमध्ये ४ जनाको स्थानीय अस्पताल र १ जनाको गम्भीर अवस्थामा जलगाउँस्थित गोदावरी अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचार गर्नका लागि मन्त्रालयले दिल्लीस्थित दूतावास तथा काठमाडौंस्थित भारतीय दूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय एवम् सहजीकरण गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
माघ ९ गते साँझ महाराष्ट्र राज्यको जलगाउँ जिल्लास्थित भरधाडे स्टेसननजिकै रेल दुर्घटना भएको थियो । उक्त दुर्घटनामा नेपालीबाहेक अन्य ५ जनाको पनि मृत्यु भएको थियो ।
नामावली

दोधारा चाँदनी । हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन् ।
हमास–इजरायल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको हो । युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उनको परिवारमा छ ।
मलिन अनुहारमा विपिनका आमा पदमाले भने, “युद्धविराम भएपछि विपिन पहिलो चरणमै छुट्लान् भन्ने आशा थियो, तर भएन । मेरो निर्दोष छोरा पन्ध्र महिनादेखि बन्धक छ ।” उनले यसअघि पनि युद्धविराम भएका बेला छोराको रिहाइको आशा गरिए पनि रिहाइ नभएको बताउँदै यसपटक रिहाइ हुनेमा आशावादी रहेको बताए ।
“युद्धविराम हुन्छ फेरि युद्ध भइहाल्छ अझै पनि हाम्रो मनमा त्यही डर छ कतै फेरि युद्ध त हुने होइन,” आमा पदमाले भनिन्, “जसरी हुन्छ अहिलेको युद्धविराममा मेरो छोराको सकुशल रिहाइ होस् सरकारसँग यही अनुरोध छ ।” सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायमा अध्ययनरत ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । त्यहाँ गएको एक महिना नहुँदै इजरायलको दक्षिणी क्षेत्रस्थित अलिमुम किबुजमा हमास समूहले आक्रमण गरेको थियो । आक्रमणमा १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको थियो । त्यति बेलादेखि विपिनको अवस्था अज्ञात छ ।
इजरायल सरकारले हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा विपिनको नाम समावेश छैन ।
विपिनका लागि सरकार गम्भीर भएर लागेको गृहमन्त्री रमेश लेखकले बताए । “सरकारसँग प्राप्त सूचनाअनुसार विपिन हमासको नियन्त्रणमा सुरक्षित छन्, विपिनको रिहाइका लागि सरकार गम्भीर भएर लागेको छ,” गृहमन्त्री लेखकले भने, “अहिले हमास–इजरायल युद्धविराम भएको छ, हामी विपिनको सकुशल रिहाइ हुने आशामा छौँ ।” उनले विपिनको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको बताए ।
काठमाडाैं । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त अरब इमिरेट्स (युएई)मा दुई थोपा हाँसो कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्ष २०२५ को अवसरमा युएईमा बसोबास गरिरहेका श्रमशील नेपाली नागरिकलाई मनोरञ्जन, वित्तीय सचेतना अभिवृद्धि एवम् जीवनका बारेमा सकारात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क रूपमा कार्यक्रम गरिएको हो ।
नेपाली राजदूतावास अबुधाबीको संयोजनमा गैर आवसीय नेपाली संघ युएइको आयोजनामा सिस्नुपानी नेपालका कलाकारहरूको प्रस्तुति रहेको थियो ।
युएईका लागि नेपाली राजदूत महामहिम तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा समुद्घाटन गरिएको उक्त कार्यक्रम आबुधाबीस्थित अलजोधा, एम ४४, मुसफ्फाबाट जनवरी १० तारिखमा सुरु गरिएको थियो । यसैगरी क्लिन्को क्याम्प , सज्जा सारजहाँ र अलकुजको बलेदिया भलिबल ग्राउन्डमा जनवरी ११ तारिखमा गरिएको थियो । जनवरी १२ तारिखमा भने इभर सेन्डाई क्याम्प, सोनापुर र इन्डियन सोसल सेन्टर अजमानमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सिस्नुपानी नेपालका तर्फबाट कार्यक्रम संयोजक तथा सिस्नुपानी नेपालका महासचिव टंक आचार्य, चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, गायक धीरेन्द्र प्रेमर्षी, कलाकार चक्र दवाडी र सरोज घिमिरेको उपस्थिति रहेको थियो ।
नेपाली कामदारलाई पायक पर्ने हल तथा उनीहरू बस्ने क्याम्प क्याम्पमा नै पुगेर गरिएको यस कार्यक्रमले आर्थिक, सामाजिक तथा कानुनी कुरामासमेत सचेतना थपेको थियो । नेपाली रेमिट्यान्समा उल्लेख्य भूमिका निर्वाह गर्ने श्रमशील नेपालीका दुःख सुखमा ऊर्जा थप्ने उद्देश्यले सिस्नुपानी नेपालले विगत एघार वर्षदेखि यो कार्यक्रम दुई थोपा हाँसो गर्दै आएको छ । युएईमा भने यो चौथो संस्करण हो ।
ग्लोबल आइएमई बैंकको ग्लोबल रेमिटको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा नेपाल वायुसेवालगायत अन्य दर्जनौँ संस्थाको प्रायोजन रहेको थियो ।
आगामी दिनमा पनि यस्ता कार्यक्रम नेपालीले श्रम गरिरहेका विभिन्न देशमा गर्दै जाने कुरा आयोजक संस्था र कलाकार समूहद्वारा व्यक्त गरिएको थियो ।
काठमाडौं । नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ ।
उद्धार गरी ‘टाक इमिग्रेसन अफिस’ मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच नेपाली नागरिकमध्ये चार (पुरुष) थाई सरकारी निकाय ‘आइओएम’ थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासहितको सहयोगमा एक साताअघि नेपाल फर्काइएको थियो । एकजना महिलालाई भने आज नेपाल फर्काइएको दूतावासले जनाएको छ ।
नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो धेरै पैसा कमाउने चाहना राखेर कम्बोडिया, लाओस, म्यानमार र थाइल्याणलगायत वैदेशिक रोजगारीमा नआउन पनि दूतावासले अनुरोध गरेको छ ।
लिस्बन । विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि माल्टाबाट छ सय बढी नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले माल्टामा सञ्चालन गरेको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो ।
शिविरबाट राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र माल्टामा जन्मेका नेपाली बालबालिकाको नयाँ राहदानी गरी कूल छ सय ५० जनाको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको स्पेनका लागि कार्यवाहक राजदूत यज्ञराज पौड्यालले जानकारी दिए । पाँच दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट झण्डै सात सय नेपालीले सेवा लिएको कार्यवाहक राजदूत पौड्यालले बताए ।
शिविरबाट करिब ७८ हजार युरो अर्थात् रु एक करोड १० लाख राजस्व सङ्कलन भएको पौड्यालले बताए । “राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा दिन विशेष प्राथमिकता दिएर माल्टामा घुम्ती शिविर सञ्चालन गरेका हौँ”, पौड्यालले भने, “शिविर अवधिभर हामीले सक्दो सेवा दिने प्रयास गर्यौं, माल्टाबाटै सेवा पाउँदा सहज भएको भन्दै सेवाग्राहीले खुसी व्यक्त गर्नुभयो ।”
शिविरबाट राहदानी नवीकरण, राहदानी वितरण र कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा प्रवाह गरिएको दूतावासले जनाएको छ । घुम्ती सेवामा दूतावासका सहचारी विपिन चन्द, राहदानी विभागका नायब सुब्बा विदुर खतिवडा र दूतावासका स्थानीय कर्मचारी खटिएका छन् । टोलीले डिसेम्बर १४ तारिखदेखि गैरआवासीय नेपाली सङ्घ माल्टाको कार्यालयबाट कन्सुलर सेवा प्रदान गरेको थियो । घुम्ती सेवालाई गैरआवासीय नेपाली सङ्घ माल्टासहित त्यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाले समन्वय र सहजीकरण गरेका थिए ।
माल्टामा नेपाली दूतावास नभएका कारण राहदानी विभाग र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले त्यहाँ घुम्ती शिविर सञ्चालन गरेको हो । यसअघि दूतावासले गत महिना स्पेनको बार्सिलोनामा घुम्ती सेवा सञ्चालन गरेको थियो ।
काठमाडौं । ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आजदेखि जापानमा १४ औँ ‘नेपाल फेस्टिवल’ सुरु भएको छ । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) जापान, जापानका लागि नेपाली राजदुतावास र नेपाल आदिवासी जनजाति महासङ्घ जापानको संयुक्त आयोजनामा भोलिसम्म टोकियोको नाकानो सिकिनोमोरी पार्कमा सञ्चालन हुने यस महोत्सवबाट नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरुको अपनत्वको अनुभूति गराउन सहयोग पुग्ने बताइएको छ ।
जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाली हाउस नामक बहुसांस्कृतिक केन्द्रको निर्माणका लागि सहयोग जुटाउन यो फेस्टिवलको आयोजना गरिएको एनआरएनए जापानले जनाएको छ । फेस्टिवलका आर्थिक सङ्कलन अभियान, स्टल बुकिङ, स्वयम्सेवक टिम र विभिन्न वेशभूषा, मौलिक कला संस्कृति, नेपाली संस्कृतिका प्रतिभा देखाउने एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक नवीन निउरेले जानकारी दिए ।
धार्मिक र सामाजिक सद्भावसहितको नेपाल हाउस निर्माण गराउने मुख्य योजनासहित यस वर्षको ‘नेपाल फेस्टिवल’ गरिन लागेको एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरेले बताए । महोत्सवमा नेपाली खानाको र अन्य व्यापारिक प्रयोजनका गरी ४० वटा स्टल राखिएका छन् । महोत्सवमा नेपाली मौलिक कला संस्कृति, सामाजिक रीतिरिवाज, पर्यटकीय स्थललगायत समेटिएको विभिन्न वृत्तचित्र तथा फोटो प्रदर्शनी गरिने एनआरएनए प्रवक्ता खगराज गौतमले जानकारी दिए । एनआरएन जापानले सन् २०१२ देखि जापानमा यस किसिमको महोत्सव गर्दै आएको छ ।
काठमाडौं । मानव तस्करको जालोमा परेर विभिन्न देश हुँदै बुल्गेरिया पुगेका १८ नेपाली पक्राउ परेका छन् । उनीहरूलाई तीन महिना अगाडि नै बुल्गेरिया प्रहरीले पक्राउ गरेको खुलेको छ । बुल्गेरियामा रहेका नेपालीलाई कन्सुलर सेवा दिँदै आएको जर्मनीस्थित नेपाली दूतावासका अनुसार बुल्गेरिया प्रवेशको आधिकारिक कागजात नभएपछि उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूलाई यही साता डिपोर्ट (देश निकाला) गर्ने तयारी बुल्गेरिया सरकारले गरेको छ । हाल उनीहरूलाई बुल्गेरियाको राजधानी सोफियास्थित डिपोर्टेसन सेन्टरमा राखिएको छ । ‘एउटै डिपोर्टेसन सेन्टरमा १८ नेपाली छौं,’ त्यहाँ रहेका एक नेपालीले भने, ‘हामी ट्राभल डकुमेन्टको प्रतीक्षामा छौं ।’
उनीहरूमध्ये ६ जना राहदानी फालेर शरणार्थी बन्ने प्रक्रियामा थिए । ‘हामी कसैको साथमा राहदानी छैन । यहाँको प्रहरीले नेपाली दूतावाससँग स्वदेश फर्कन ट्राभल डकुमेन्ट पठाइदिन पत्राचार गरेको जानकारी दिएको छ । दूतावासले ट्राभल डकुमेन्ट पठाउनेबित्तिकै टिकट खोजेर हामीलाई स्वदेश फिर्ता पठाइदिनेछ,’ ती नेपालीले भने ।
जर्मनीस्थित नेपाली दूतावासका उपप्रमुख सागर फुयालले उनीहरूलाई यथाशीघ्र नेपाल पठाउन बुल्गेरिया सरकारसँग समन्वय भइरहेको जानकारी दिए । ‘हामीले ट्राभल डकुमेन्ट जारी गरिसकेका छौं । उनीहरूलाई बुल्गेरिया सरकारले आफ्नै टिकटमा नेपाल पठाउँदै छ । अर्को सातासम्म डिपोर्ट भइसक्छन्,’ उनले भने । ती नेपालीहरू भारतबाट रोमानिया, हंगेरी हुँदै बुल्गेरिया पुगेका थिए ।
जसमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका हुन् । रोमानियाका लागि श्रम स्वीकृति लिई पुगेकाहरू पछिल्लो समय भागेर दोस्रो देश जानेको संख्या बढिरहेको छ ।
- स्वामी आत्मो आनन्द (प्रज्वल भण्डारी)
भनिन्छ यस धरतीमा बुद्ध पुरुषहरुको उपस्थिति सधैं रहिरहेको हुन्छ। प्राय बुद्ध पुरुषहरु अज्ञात जीवन बाँच्नु हुन्छ । जनमानसमा परिचित बुद्ध पुरुषहरूले धर्म चर्चा त गर्नुहुन्छ तर अन्तर यात्राको लागि मानिसहरूलाई दिक्षित गर्नु हुन्न। तर दिक्षा दिएर आत्मरुपन्तरणमा सघाउने ब्यक्तिको जन्म समग्र मनुस्यजाति कै निम्ति कल्याणकारी हुनेगर्दछ । ओशो पनि यस युगका त्यस्तै करुणावान पुरुष एबम् सदगुरु हुनुहुन्छ।
ओशोको जन्म सन् १९३१ डिसेम्बर ११ अर्थात् आज कै दिन भारतको मध्य प्रदेश स्थित कुचवाडा भन्ने सानाे गाउँमा भएको थियो। जैन परिवारमा जन्मनु भएका ओशोको बाल्यकालको नाम भने चन्द्रमोहन जैन थियो।
आफ्नो जीवनको प्रारम्भिक कालमा उहाँ आफ्नै साधना र रुपान्तरणमा लागि पर्नुभएको थियो। सन् १९५३ मा २१ वर्षको उमेरमा आफूलाई निर्वाण प्राप्त भएको ओशोले बताउनु भएको छ। निर्वाण प्राप्ति पश्चात् १७ वर्ष सम्म यस घटना बारे उहाँले कसैलाई बताउनु भएन बरु मानव मन, सोच र मनोविज्ञान बारे गहिरो अध्ययन गर्नु भयो। मानवको कल्याण गर्ने ठूलो अभियानको लागि उहाँ तयारी गर्दै हुनुहुन्थ्यो भनेर सहजै बुझ्न सकिन्छ।
त्यही क्रममा ध्यान शिविरहरु सञ्चालन गर्दै उहाँले नवीन ध्यान पद्धतिहरु विकास गर्नुभयो। मानव मनमा भएका दमन र आघातहरु हटाउँदै अध्यात्मको बिज रोप्न ओशोले नव-सन्यासको अभियान सुरु गर्नुभयो । ओशोको नव-सन्यासमा भौतिक सम्पन्नताको स्वीकारोक्ति सँगै आफ्नो स्वभाव अनुकुल आध्यात्मिक मार्ग चयन गर्न पाउने स्वतन्त्रता छ । श्रद्धा, ध्यान, भक्ति सबै मार्गहरु ओशोले खुल्ला गरिदिनु भएको छ । हरेक प्रकारका मानिसले ओशोको मार्ग बाट परमतत्वको बोध प्राप्त गर्न सक्दछन् ।
सार्वजनिक जीवन सुरू हुँदा ओशो ‘आचार्य रजनिश ‘ को नामले परिचित हुनुहुन्थ्यो । उहाँले १९७४ मा पुना आश्रम निर्माण गर्नु भयो भने आफ्नो ध्यान र नव-सन्यासको अभियान लिएर १९८१ मा उहाँ अमेरिकाको ओरेगन जानु भयो, रजनीशपुरम नामको विशाल कम्युन त्यहाँ निर्माण गर्नु भयो । तर राजनैतिक हस्तक्षेप भएपश्चात उहाँ पुना आश्रम फर्कनु भयो ।
सन् १९९० मा ओशोले शरिर छाड्नु भएता पनि उहाँले सुरु गर्नु भएको अभियान निरन्तर जारि नै रहेको छ । नेपालमा ओशो तपोवन मार्फत विभिन्न स्थानमा ध्यान केन्द्रहरु स्थापना भएका छन् जहाँ प्रत्येक दिन उहाँले दिनुभएको ध्यान तथा थेरपीहरुको प्रयोग हुन्छ । मानिसहरु यी पद्धतिहरु बाट आफु आनन्दित बनेको बताउँछन् । ध्यान पश्चात् मानिसहरुले ओशोलाई अझै सजीव एबम् निकट महशुस गर्ने गरेका छन् ।
मानव जातिलाई स्वयंको बोध गराउन ओशोले आफ्नो जीवनभर प्रयास गर्नुभयो । करुणा र चेतनाको शिखरको रूपमा ओशोको मुल्यांकन हुने गरेको छ र आगामी दिनहरूमा उहाँको महत्व बढ्दै जाने निश्चित छ । सन्ताप, पीडा र दुःखबाट मानिसलाई मुक्त गराई अन्तर यात्राका अनेक मार्ग देखाउन यस धरतीमा जन्म लिनुभएका ओशोको जन्मदिवशको सबैमा हार्दिक शुभकामना ।
स्वामी आत्मो आनन्द, (प्रज्वल भण्डारी) : ओशोले सन् १९७० मा माउन्ट आबुको एक ध्यान शिविरका क्रममा सन्यास दिने घोषणा गर्नुभयो । त्यसपूर्व उहाँले प्रवचन र ध्यान शिविर गर्नुहुन्थ्यो तर सन्यासको अभियान सुरु गर्नुभएको थिएन। उहाँको दर्शन र ध्यान पद्धतिबाट प्रभावित हजारौँ मानिसहरुले सन्यास लिन थाले। भारत लगायत अन्य देशबाट पनि मानिसहरु आउन थाले, उहाँबाट ध्यान पद्धति सिक्ने र आफ्नो देशमा गएर ध्यान केन्द्र खोल्ने क्रम विश्वभर सुरु भयो।
नेपालका एक इन्जिनियरिङका विद्यार्थी पनि बर्षौ देखि ओशोको प्रेमी थिए तर सन्यास लिन पाएका थिएनन्। स्वामी आनन्द अरुण त्यतिबेला पटना विश्वविद्यालयमा पढ्नुहुन्थ्यो र एकदिन ओशोको प्रवचन प्रत्यक्ष सुन्न पाएपछि उहाँलाई आफ्नो आध्यात्मिक गुरुको खोजले पूर्णता पाएको महसुस भएको थियो। त्यसपछि उहाँ निरन्तर ओशोसँग पत्राचार गर्नुहुन्थ्यो र ओशो उहाँलाई शिविरमा आउन निमन्त्रण गर्नुहुन्थ्यो। पहिलो भेटमा नै ओशोले नेपालको धेरै आध्यात्मिक सम्भावना भएको र तिमी तयार भयौ भने पुरै नेपाल मरुन रङ्गमा रङ्गिनेछ भन्नुभएको थियो ।
सन्यासको निम्ति ओशोले नियन्त्रण गर्नु भए पनि विविध कारणहरुले मिलिरहेको थिएन। त्यो सौभाग्यको क्षण आजकै दिन ११ अक्टोबर १९७४ मा जुर्यो। सन्यास लिए पश्चात ओशोले स्वामी आनन्द अरुण लाई काठमाडौंको आफ्नो घरमा ‘आशिष रजनिश ध्यान केन्द्र’ खोल्न निर्देशन दिनुभयो।
७० को दशकमा ओशोको अभियान सर्वोच्च उचाईमा पुगेको थियो। विश्वभरबाट सन्यासी पुना आउँथे र ध्यान एबम् सन्यासमा आफ्नो जीवन रुपान्तरण गरिरहेका थिए। ओशोको नव सन्यासमा भौतिक जीवनको सम्पन्नता र आध्यात्मिक अन्तरबोधको समिश्रण थियो । संसार त्याग गरी पुरातन योगीको जस्तो एकाकी जीवन जिउन ओशोले सिकाउनु भएन।
पुना आश्रममा सन्यासीको संख्या बढ्दै जाँदा आश्रमको लागि नयाँ स्थानको खोजी भइरहेको थियो। भारतमा उहाँका विरोधीहरुले उहाँलाई राजनीतिक दाउपेचको शिकार बनाए र कहीँ पनि जग्गा खरिद गर्न दिएनन्। उहाँमाथि भौतिक आक्रमण पनि भयो।
नयाँ गन्तव्यको खोजीमा ओशो सन् १९८१ मा अमेरिका जानुभयो, ‘रजनिशपुरम’ भन्ने शहर नै बसाउनुभयो । एक लाख सन्यासीले त्यहाँ ध्यान गरून् भन्ने उहाँको परिकल्पना थियो। पुँजीवादी मुलुकमा कम्युनको यो प्रयोगबाट त्यहाँका धर्मान्ध व्यक्तिहरू डराए र सन् १९८४ मा उहाँलाई गिरफ्तार गरी १२ दिन थुनामा राखी भारत फिर्ता पठाइदिए। षड्यन्त्रकारी समुहका केही मानिसहरू उहाँको वरिपरि पुगिसकेका थिए जसले सन् १९९० मा पुना स्थित आफ्नै आश्रममा उहाँको हत्या गरे।
सो समूहले ओशोको देशना मेटाउन चाहन्थ्यो। ओशोको मृत्युपछि ओशो आन्दोलनको बागडोर उनीहरुकै हातमा पर्यो। उनीहरुले एक एक गर्दै विश्वभरका कम्युनहरु बन्द गराए, ओशो माथि कपिराइट लगाउने, उहाँको समाधि हटाउने, ओशो साहित्यको प्रकाशन बन्द गर्ने, उहाँको फोटो प्रयोग नगर्ने, माला प्रतिबन्ध गर्ने र पुराना सन्यसीहरुलाई आश्रम प्रवेशमा बन्देज गर्ने जस्ता कार्य भए। अहिले पुना आश्रम पनि बिक्री गर्ने कोसिस भइरहेको छ। ओशो जस्तो महान बुद्ध पुरुषलाई इतिहासको पाना बाट हटाउन हरसम्भव कोसिस भइरहेको छ।
त्यसको समानान्तर एउटा सकारात्मक प्रयास नेपालको भूमिबाट स्वामी आनन्द अरुणले ओशो देशना जोगाउन गरिरहनु भयो। ओशोले जीवनको उत्तरार्धमा अन्तिम प्रयासको रुपमा आफ्नो कार्य अब ‘मिस्ट्री स्कुल’ मार्फत गर्ने बताउनुभएको थियो, जस अन्तर्गत ४०-५० जनामात्र आश्रमको दैनिकी सञ्चालनमा कार्य गर्ने र बाँकी मानिसहरु ध्यान गर्न वर्षको केही समय आउनसक्ने अवधारणा विकास गर्नुभएको थियो। त्यसको ज्वलन्त उदाहरण आज ओशो तपोवन बनेको छ जहाँ हजारौं मानिसहरु संसारका विभिन्न राष्ट्रबाट ध्यान र आत्म रुपान्तरणको लागि आउने गरेका छन्। यहाँ उहाँका साहित्यको प्रकाशन, ध्यान पद्धति र थेरापीको निरन्तर अभ्यास, संन्यास दीक्षा र नयाँ ध्यान केन्द्र स्थापनाको लागि प्रेरणा दिइन्छ। नेपाल लगायत विश्वभर सातवटा कम्युन रहेका छन् भने सयौं ध्यान केन्द्रहरु स्थापना भइसकेका छन्। त्यस्तै तपोवनमा ओशोको समाधि संरक्षण गरी ओशोको जीवनका दुर्लभ वस्तुहरुको पनि संरक्षणको प्रयास भइरहेको छ।
भर्खरै सेप्टेम्बर २०२३ मा ‘अन्तर्राष्ट्रिय रजनिश साधना संघ’ दर्ता गरी विश्वभरका कम्युन एवं केन्द्रहरुलाई गोलबद्ध गरिएको छ जसले यस अभियानको औपचारिक अन्तर्राष्ट्रियकरण गर्ने कार्य गरेको छ। एकलाख भन्दा बढी सन्यासी दीक्षित भइसकेका छन् भने ओशोको ध्यान र उत्सवमा जोडिन चाहने मानिसहरूको संख्या पनि दिनानुदिन बढिरहेको छ।
सन्यास, सत्संग र आरतीमा ओशोको प्रगाढ ऊर्जा महसुस गर्दै मानिसहरु ध्यानमा निमग्न हुन्छन्। कोरोना लकडाउनको विसम परिस्थितिमा ओशोले एउटा नयाँ प्रयोग सुरु गर्नुभयो जसमा इन्टरनेटको माध्यमले ध्यान एबम् सत्संगको क्रममा शक्तिपात हुँदा विश्वभर फैलिएका सन्यासीहरुले आफ्नै कोठामा ओशोको ऊर्जा महसुस गरेका थिए। त्यस समय पश्चात यो प्रयोग निरन्तर जारी रहेको छ। यसरी हेर्दा ओशोको देशना मेटाउन चाहनेहरूलाई चुनौती दिँदै ओशो अझ जीवन्त भएर आउनु भएको छ। बुद्ध पुरुषहरु संग असिम शक्ति हुन्छ तर उहाँहरुले त्यसको प्रयोग जगत कल्याणको निम्ति मात्रै प्रयोग गर्नु हुन्छ। साथै त्यसको लागि उहाँहरुलाई उपयुक्त माध्यमको पनि जरुरी हुन्छ। यस्ता समर्पित माध्यमको निकट बस्नु पनि परिवर्तनकारी हुन्छ, गुरुको ऊर्जा र आभामा एकाकार भई ध्यान गर्न उत्प्रेरणा मिल्दछ।
बोधिसत्व स्वामी आनन्द अरुणज्यूको पाँच दशक लामो गुरुसँग निकटस्थ सम्बन्ध, गुरुप्रेम र आफ्नो अनवरत प्रयासले आज ओशो देशना जीवित छ। ध्यान, धर्म र अध्यात्म मार्फत ओशोले गर्न चाहनुभएको रुपान्तरण र जगत कल्याणको लागि ओशोले आजकै दिन आफ्नो लिला सहचारीको रूपमा बोधिसत्व स्वामी आनन्द अरुणलाई चयन गर्नुभएको थियो।
मनुष्यलाई दुःखबाट मुक्त गर्न प्रत्येक युगमा बुद्ध पुरुष यस धरतीमा आउने गर्छन् र तिनको कार्यमा बाधा पुर्याउन नकारात्मक शक्ति पनि उत्तिकै सक्रिय रहन्छ। अनेक कष्ट, आक्रमण र चुनौती सामना गर्दै प्रतिकुल परिस्थितिमा पनि गुरुप्रेममा ओतप्रोत एक सच्चा भक्तले ओशोको देशनालाई पुरार्जिवित गरि सदा सदाको लागि यस धरतीमा स्थापित गरिदिनु भएको छ। यस मार्गमा हिँड्ने हामी सारा सन्यासी स्वामी जीकाे यो अतुलनिय योगदान प्रति ऋिणि रहने छौँ र यो महत्वपूर्ण दिनको स्मरण गरि रहने छौँ ।