कर्णाली प्रदेशका गरिब तथा विपन्न घरपरिवारका लागि सहुलियतमा ढुवानी हुँदै आएको नुन सुगमको ठाउँ सुर्खेतमा खपत हुने गरेको छ ।
सरकारले दुर्गमका बासिन्दाका लागि साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत अनुदानमा ढुवानी गर्दै आएको नुनका प्याकेट पहुँचवालाले सुर्खेतमा लिन थालेका छन् । कालीकोटका स्थानीय बासिन्दाले नुन लिन आउँदा नागरिकता देखाउनुपर्ने बाध्यता रहेको छ तर पहुँचवालाले बोराका बोरा गोदामबाट ल्याएर सुर्खेततर्फ पठाउने गरेको पाइएको छ । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाबाट आयोडिनयुक्त नुन सुर्खेततर्फ निर्यात भएको घटना सार्वजनिक भएसँगै यो कुराप्रति सबैले चासो दिन थालेका छन् ।
बडीमालिका माध्यमिक विद्यालयमा खेल शिक्षक जीवनबहादुर शाहीले सरकारले दुर्गम क्षेत्रका बासिन्दाका लागि दिँदै आएको नुन कालीकोटबाट सुर्खेतमा ढुवानी भएको आफूले प्रत्यक्ष देखेको बताए । उनले कालीकोटबाट सहुलियतको नुन बोकेर सुर्खेत जाँदै गरेको बोलेरो जिपमा बोराका बोरा नुन राखेर लैजाँदै गरेको देखेपछि सोधीखोजी गर्दा स्थानीय जनप्रतिनिधिको सुर्खेतस्थित घरमा प्रयोग गर्न लिन लागेको खुलेको बताए । शाहीले गुनासो पोख्दै भने, “हामीले एक प्याकेट नुन माग्दा नागरिकता खोजिन्छ, तर नगरपालिकाका पदाधिकारीले बोराका हिसाबले नुन खरिद गरेर सुर्खेत पठाउने सुविधा पनि यहाँ रहेको भन्ने थाहा भयो । पहुँच भएपछि जे गर्न पनि छुट रहेछ ।”
सरकारले दिँदै आएको नुन कालीकोटमा प्रतिप्याकेट नौ रुपियाँ पर्छ । सुर्खेतमा किन्नु परेमा एक प्याकेटको ३० रुपियाँ पर्छ । रास्कोटका महेश न्यौपानेले सामाजिक सञ्जालमा नुन सुर्खेत ढुवानी भइरहेको सूचना आफूले पनि पाएको भन्दै प्रतिप्याकेटबाट २० रुपियाँ फाइदा हुने भएकाले पहुँचवालाले नै यसरी नुन पठाएको हुनुपर्ने बताए ।
नगरप्रमुख धर्मराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमलगायतका जनप्रतिनिधि र कर्मचारीको बसोबास सुर्खेत भएकाले रास्कोटका बासिन्दालाई आएको नुन सुर्खेत जाने गरेको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका छन् ।
रास्कोट नगरपालिका–५ का मेघराज शाहीले स्थानीय बासिन्दाले एक प्याकेट नुनका लागि दिनभरि डिपो कुर्नुपर्ने तर पहुँच भएकाले बोराका बोरा नुन सप्लाई गर्न सक्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।
रास्कोटमा नुन विरतण गर्दै आएको मान्म डिपोका प्रमुख डम्बर बुढाले कालीकोटबाट सहुलियतको नुन सुर्खेत पुग्ने कुरा सरकारी तहबाटै समस्या भएको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।