काठमाडाैं । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त अरब इमिरेट्स (युएई)मा दुई थोपा हाँसो कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्ष २०२५ को अवसरमा युएईमा बसोबास गरिरहेका श्रमशील नेपाली नागरिकलाई मनोरञ्जन, वित्तीय सचेतना अभिवृद्धि एवम् जीवनका बारेमा सकारात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क रूपमा कार्यक्रम गरिएको हो ।
नेपाली राजदूतावास अबुधाबीको संयोजनमा गैर आवसीय नेपाली संघ युएइको आयोजनामा सिस्नुपानी नेपालका कलाकारहरूको प्रस्तुति रहेको थियो ।
युएईका लागि नेपाली राजदूत महामहिम तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा समुद्घाटन गरिएको उक्त कार्यक्रम आबुधाबीस्थित अलजोधा, एम ४४, मुसफ्फाबाट जनवरी १० तारिखमा सुरु गरिएको थियो । यसैगरी क्लिन्को क्याम्प , सज्जा सारजहाँ र अलकुजको बलेदिया भलिबल ग्राउन्डमा जनवरी ११ तारिखमा गरिएको थियो । जनवरी १२ तारिखमा भने इभर सेन्डाई क्याम्प, सोनापुर र इन्डियन सोसल सेन्टर अजमानमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सिस्नुपानी नेपालका तर्फबाट कार्यक्रम संयोजक तथा सिस्नुपानी नेपालका महासचिव टंक आचार्य, चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, गायक धीरेन्द्र प्रेमर्षी, कलाकार चक्र दवाडी र सरोज घिमिरेको उपस्थिति रहेको थियो ।
नेपाली कामदारलाई पायक पर्ने हल तथा उनीहरू बस्ने क्याम्प क्याम्पमा नै पुगेर गरिएको यस कार्यक्रमले आर्थिक, सामाजिक तथा कानुनी कुरामासमेत सचेतना थपेको थियो । नेपाली रेमिट्यान्समा उल्लेख्य भूमिका निर्वाह गर्ने श्रमशील नेपालीका दुःख सुखमा ऊर्जा थप्ने उद्देश्यले सिस्नुपानी नेपालले विगत एघार वर्षदेखि यो कार्यक्रम दुई थोपा हाँसो गर्दै आएको छ । युएईमा भने यो चौथो संस्करण हो ।
ग्लोबल आइएमई बैंकको ग्लोबल रेमिटको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा नेपाल वायुसेवालगायत अन्य दर्जनौँ संस्थाको प्रायोजन रहेको थियो ।
आगामी दिनमा पनि यस्ता कार्यक्रम नेपालीले श्रम गरिरहेका विभिन्न देशमा गर्दै जाने कुरा आयोजक संस्था र कलाकार समूहद्वारा व्यक्त गरिएको थियो ।